July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

ओली विरुद्ध दायर अवहेलना मुद्दा सोमबार पेशी तोकियो

२०७७ फाल्गुन १०

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दायर भएको अवहेलना मुद्दाको सोमबार पेशी तोकिएको छ।

प्रधानमन्त्रीका तर्फबाट वारेस राख्ने अनुमतिका लागि निवेदन दिएपछि मुद्दा पेशीमा चढेको हो। फागुन ६ गते प्रधानमन्त्री ओली अवहेलना मुद्दामा जवाफ लिएर आफै सर्वोच्च उपस्थित भएका थिए। न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको इजलाशमा पेशी रहेको छ । सर्वोच्चले प्रधानमन्त्रीलाई वारेस राख्ने अनुमति दिनेछ ।

वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेको निवेदनमा सुनुवाइ गर्दै अदालतले आफैं उपस्थित भएर जवाफ दिन भनेको थियो । न्यायाधीश मनोज शर्माको इजलाशले आफै उपस्थित हुन आदेश गरेपछि प्रधानमन्त्री ओली सर्वाेच्च पुगेर जवाफ दिएका थिए। प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधीन मुद्दामा पटक–पटक अभिव्यक्ति दिएको तथा कानुन व्यवसायीलाई होच्याएको र इजलासमा भइरहेको बहसलाई ‘तमासा’ भनी टिप्पणी गरेको भन्दै अवहेलना निवेदन दायर भएको थियो ।

Advertisement

ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरी ‘बाजे वकिललाई सर्वोच्च लगेर तमासा’ देखाएको टिप्पणी गरेका थिए । ९४ वर्षीय वरिष्ठ अधिवक्तालाई लक्षित गर्दै गरेको टिप्पणीले समग्र न्यायपालिकामाथि अवहेलना गरेको जिकिर गर्दै वरिष्ठ अधिवक्ता आचार्य र अधिवक्ता न्यौपाने रिट निवेदन दर्ता गराएका थिए ।

प्रधानमन्त्री ओलीले फागुन २ गते अदालतको पत्र बुझेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अदालतको अवहेलना नगरेको दाबी गरेका छन्।