काठमाडाैं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राजादेखि नेत्रविक्रम चन्द ‘विप्लव’सम्म अटाउने सर्वपक्षीय सम्मेलन गर्न माग गरेका छन्।
सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको सन्दर्भमा सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्नुपर्ने बताएका हुन्।
उनले लेखेका छन्, ‘नेकपा माओवादी विप्लव समूहसँग वार्ता हुनु सकारात्मक हो । यदि साँच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौं ।’
सरकारले थापाको नेतृत्वमा वार्ता टोली बनाएको केही समयपछि नै विप्लव नेतृत्वको नेकपाले पनि खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा वार्ता टोली घोषणा गरेको छ।