November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

वन्यजन्तुका हकको संरक्षण जरुरी : प्रम ओली

२०७७ फाल्गुन १९

काठमाडाैं: प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीमा मानव, वन्यजन्तु र वनस्पतिबीचको अन्तरसम्बन्ध रहेको बताउँदै मानव समुदायले सबैका हकको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना व्यवस्थापनको रजत महोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कोषले व्यवस्थापनको जिम्मा लिएपछि चिडियाखानामा सुधार आएकोसमेत बताउनुभयो ।

चिडियाखानामा वन्यजन्तुको संरक्षणसँगै शैक्षिक दृष्टिकोणबाट पनि जोड्नुपर्ने धारणा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मानव, वन्यवन्तु, वनस्पति, प्राकृतिक स्रोत, इकोसिस्टमको अर्थ र सम्बन्धबारेमा हरेक विद्यार्थीलाई शिक्षा दिनुपर्ने उल्लेख गर्नुभयो ।

Advertisement

सदर चिडियाखाना साँघुरो हुँदै गएकाले खुला चिडियाखानाको अवधारणाअनुसार आफूले अघिल्लो कार्यकालमा भक्तपुरको सूर्यविनायकमा खुला चिडियाखानाको शुभारम्भ गरेको जानकारी गराउनुभयो । उहाँले चिडियाखानाभित्र ज्येष्ठ नागरिक, अशक्त र गर्भवतीलगायतलाई आवतजावतमा सहजताका तर्फबाट चार थान विद्युतीय सवारी प्रदान गर्ने घोषणा समेत गर्नुभयो ।

एक सिंगे गैँडाको अविभावकत्व ग्रहण सो अवसरमा प्रधानमन्त्री ओलीले चिडियाखानाको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’को शुभारम्भ गर्दै एकसिङ्गे गैँडाको अविभावकत्व ग्रहणसमेत गर्नुभयो । उहाँले हाल चिडियाखानामा रहेका तीनमध्ये उहाँले एक गैँडाको एक महिना आफ्नो निजी तर्फबाट र एक वर्षको नेपाल सरकारका तर्फबाट आहारा, स्याहार र औषधोपचार खर्चको जिम्मेवारी लिनुभएको हो ।