काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले नारीलाई शिक्षा र आर्थिक सशक्तीकरणमा अघि बढाइने बताउनुभएको छ ।
महिला, कानून र विकास मञ्चले १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘यौनजन्य हिंसा र न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले बलात्कारका घटना मेलमिलापमा मिलाउनेलाई पनि कानूनी कारबाहीका दायरामा ल्याउन लागिएको बताउनुभयो ।
“आपराधिक मानसिकता भएकाले बालिकामाथि बलात्कार गर्ने गरेका छन्, महिलाका पक्षमा कानूनी व्यवस्था हुँदाहुँदै सुन्नै नसक्ने घटना भइरहेका छन्, महिला हिंसा अन्त्य गर्न सबैबीच सहकार्य गरेर अघि बढ्न आवश्यक छ, सबै जिल्लामा महिला प्रहरी सेल भए पनि महिला अधिकृत नहुँदा पनि महिला हिंसामाथिको घटना छानबिन र कारबाहीमा प्रभाव परेको छ” मन्त्री महतोले भन्नुभयो ।
महिला हिंसा असभ्यता हो भन्ने वाक्य उल्लेख भएका ब्यानर सार्वजनिक स्थलमा राख्ने गरी फागुन १४ गते मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी पनि उहाँले दिनुभयो । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नीतिसमेत सार्वजनिक गर्न लागिएको जनाइएको छ ।