November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

पार्टीले फिर्ता बोलाएको पत्र माओवादी मन्त्रीहरुले बुझे

काठमाडौं – नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना पार्टीका नेताहरुलाई फिर्ता हुन निर्देशन दिई पठाएको पत्र मन्त्रीहरुले बुझेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको चिठी बोकेर केही नेताहरु सिंहदरबारस्थित मन्त्रीहरुको कार्यकक्षमा पुगेका थिए । ती नेताहरुका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलले आफैँ चिठी बुझेका छन ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा, सहरी विकास मन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले आफ्नो सचिवालयमार्फत पत्र बुझेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

Advertisement

तर, खेलकुदमन्त्री दावा लामाले भने पत्र बुझ्न मानेनन् । मन्त्रीको सचिवालयले समेत चिठी नबुझ्ने अडान लिएपछि हुलाकमार्फत पठाइएको ढकालले बताए । ‘मन्त्री लामाले चिठी बुझ्न मान्नुभएन । सचिवालयले पनि इन्कार गरेपछि नमानेपछि हुलाक मार्फत पठाइएको छ’ उनले भने ।

फागुन २९ गते बसेको स्थायी समितिको बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो । उक्त निर्णय केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन भएपछि आइतबार मन्त्रीलाई चिठी लेखिएको केन्द्रीय कार्यालयका सचिव ढकालले जानकारी दिए ।

फागुन २८ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादलसहित माओवादी केन्द्रका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए ।