काठमाडाैं–सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतलाई भ्रष्टाचार मुद्दा चलाउन माग गरिएको मुद्दा सोमबार पेसीमा राखेको छ।
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले उक्त मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलाशमा पेशी तोकेका हुन्। उक्त मुद्दा १ नम्वरमा रहेको छ। गत फागुन २ गते सर्वोच्चले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नका लागि प्रमाण उपलब्ध गराउन आदेश जारी गरेको थियो।
यसअघि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय आन्दनमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले अख्तियारसँग फाइल मगाउने आदेश गरेको थियो। अदालतले अख्तियार, विशेष सरकारी वकिल र सम्बन्धित अन्य निकायसँग आवश्यक विवरण मगाउने आदेश गरेपछि यो मुद्दा थप अध्ययनको चरणमा प्रवेश गरेको थियो।
सोमबार सुनुवाइ भएमा सम्भवत: अन्तिम सुनुवाइ सुरु हुनेछ । विशेष अदालतमा रहेको मुद्दामा धमाधम थुनछेक आदेश भइरहेको छ। यही मुद्दामा मुछिएका अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहित तीन जना पुर्पक्षका लागि थुनामा पठाउन विशेषले आदेश गरिसकेको छ। १७५ जनालाई विपक्षी बनाउँदै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
तत्कालीन भौतिक पूर्वाधारमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात, पूर्वमन्त्रीहरू छविराज पन्त, चन्द्रदेव जोशीलगायत १७५ जना विरुद्ध मुद्दा दायर भएको छ।
