काठमाडाै । मुख्यन्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश पदको लागि अयोग्य भन्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतको न्यायाधीश हुन संविधानले तोकेको योग्यता सुवेदीमा नभएको भन्दै सोमबार संसदीय सुनुवाइ समितिमा उजुरी गरेका हुन्।
संविधानमा सर्वोच्च अदालतको न्यायाधीश हुन कानुनमा स्नातक पास गरेर उच्च अदालतको न्यायाधीश वा मुख्यन्यायाधीश भएर काम गरेको पाँच वर्ष पुगेको वा कानुनमा स्नातक पास गरेर वरिष्ठ अधिवक्ता वा अधिवक्ताको रूपमा निरन्तर १५ वर्ष वकालत गरेको वा कम्तीमा १५ वर्षसम्म न्याय वा कानूनको क्षेत्रमा निरन्तर काम गरी कानुनविदको रूपमा ख्याति प्राप्त गरेको वा न्यायसेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सो भन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको नेपाली नागरिक योग्य हुने भनिएको छ।
सुवेदीलाई न्यायपरिषदले सर्वोच्च अदालतका लागि सिफारिस गरेको थियो । न्यायसेवाको राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त भएको २०६४ सालमा हो। उनी मुख्य रजिष्ट्रारसमेत भएका थिए। राजपत्राङ्कित प्रथम श्रेणी वा मुख्य कर्मचारीका रूपमा १० वर्ष काम गरेपछि उनलाई २०७४ सालमा उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गरिएको थियो।
सर्वोच्च अदालतको न्यायाधीश हुनका लागि राजपत्राङ्कित प्रथम श्रेणी वा सो भन्दा माथिल्लो पदमा १२ वर्ष काम गरेको अनुभव उनको छैन, १० वर्षकोमात्रै छ। त्यस्तै उनले मुख्य न्यायाधीशको रूपमा पनि तीनवर्ष तीन महिनामात्र काम गरेका छन्।
न्यायपरिषदले भने उनले न्यायसेवा र मुख्य न्यायाधीशको रूपमा काम गरेको अवधि जोडेर सर्वोच्च अदालतको न्यायाधीशका लागि योग्यता पुर्याइदिएको थियो।