August 31, 2026, Monday
२०८३ भाद्र १५
1:37:26 pm

म्यानमारमा प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ५१० भन्दा बढी

काठमाडाैं- म्यानमारमा फेब्रुअरी १ ​​मा सेनाले ‘कू’ गरेपछि जारी प्रदर्शनमा मृत्यु हुनेकाे संख्या ५१० नाघेकाे छ। समाचार एजेन्सी रायटर्सका अनुसार साेमबार मात्रै १४ जनाकाे मृत्यु भएकाे थियाे। यता मंगलबार थप दुई जनाकाे मृत्यु भएकाे एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले जनाएकाे छ।

प्रजातन्त्रवादीहरु मंगलबार सडकमा फोहोर फाल्दै आन्दोलन गरिरहेका छन्। गत शनिबार एकैदिन म्यानमारमा १४१ प्रदर्शनकारी मारिएका थिए। युरोपेली संघले यस दिनलाई ‘आतंकको दिन’ भनेकाे छ। 

म्यानमारको बिग्रिएको अवस्थाले अन्तर्राष्ट्रिय समुदायलाई चिन्तित बनाएको छ। राजधानी याङ्गुन र मान्डले लगायतका क्षेत्रहरुमा सेनाविरुद्ध प्रदर्शन जारी छ।

Advertisement

मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै म्यानमारका तीन धार्मिक सशस्त्र विद्रोही समूह टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्मी र अराकान आर्मीले सेनाले जनतालाई मार्ने क्रम जारी राखे प्रदर्शनकारीहरुसँग सहकार्य गर्दै सेनाविरुद्ध लड्ने चेतावनी दिएका छन्। 

‘निर्दोष नागरिकहरुलाई निर्मम तरिकाले मार्नु कुनै पनि अवस्थामा स्वीकार्य हुनेछैन। यदी सेनाले यसरी नै गाेलिबारी गरिरहे प्रतिवादमा उत्रिन हामी वाध्य हुनेछाैं,’ विज्ञप्तिमा भनिएकाे छ।