काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गुट भेला गरेर गुण्डाहरूलाई पार्टीमा भर्ती गरेको आरोप लगाएका छन्।
काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘ओलीको गुटबन्दीको कारणले पार्टी ध्वस्त भयो। बालुवाटार भेला पार्टीको केन्द्रीय सदस्य वितरण गरे। गुण्डाहरूलाई पार्टीमा भर्ती गर्ने थाले बालुवाटार भेला गरेर पुँजीपतिलाई केन्द्रीय सदस्य वितरण गरे।’ नयाँ ढंगले अगाडि जान खोज्दा ओलीले आलटाल गरिरहेको आरोप लगाए।
‘पार्टीमा विवाद हुनु सामान्य हो। भेलामा कोही नआउने कोही एक आपसमा कुरा गरिराख्ने प्रवृत्तिले पार्टी चल्दैन। पार्टीमा दक्षिणपन्थी शक्ति हावी हुँदै गयो’ उनले भने, ‘दुईतिहाइ बहुमत ओलीलाई सहन सकेनन्। प्रधानमन्त्री बनेर समाजवादको दिशाको भिजन बनाएर जानुपर्ने आवश्यक थियो। उहाँले त्यो महसुश गर्नुभएन। भ्रष्टाचारको काण्ड अहिल्यै बढ्दै गयो। अरू पार्टीले प्रश्न उठाउन थाले। भ्रष्टाचार गर्दिनँ अरूलाई पनि गर्न दिन्नँ भन्ने प्रधानमन्त्रीको मन्त्रीहरू त्यही आरोपमा बाहिरिन पर्यो।’
उनले दक्षिणपन्थी अवसरवादीको कारणले पार्टीभित्र समस्या भएको आरोप लगाए। पार्टीको सल्लाह र छलफल विचार विमर्श गर्ने काम ओलीले नगरेकाे दाबी गरे।
उनले भने, ‘कम्युनिस्ट आन्दोलन एकता गर्ने प्रस्ताव सहमति गरेका थियौँ। ओलीले भित्रभित्रै अनेक सम्झौता गरेका रहेछन्। विचार र कार्यक्रमअनुसार अगाडि ल्याएनन्। हामीले प्रधानमन्त्री बनाइ दिऔँ। ओलीले एकलौटी ढंगले मन्त्री बनाए। वैचारिक रुपमा कसरी रुपान्तरण गर्ने भन्ने बिषयमा कुरा गरेनन्।’