November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

पार्टी त्यागेका दुई प्रदेश सदस्यलाई पदमुक्त गर्न प्रचण्डको पत्रचार

काठमाडौं । लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित भएर पार्टी परित्याग गरेका दुई सांसदलाई पदबाट हटाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेश सरकारलाई पत्रचार गरेका छन्।

माओवादी केन्द्रबाट निर्वाचित सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाउन प्रचण्डले गरेको पत्र प्रदेशसभालाई प्राप्त भएको एकजना प्रदेशसभा सदस्यले जानकारी दिए ।

माओवादी केन्द्र परित्याग गरेका सांसद न्यौपाने र पन्थीलाई यसअघि माओवादी केन्द्रले स्पष्टिकरण सोधेको थियो। न्यौंपाने र पन्थीले दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीले दुबै जनालाई पदबाट हटाउनका लागि प्रदेश सरकारलाई पत्राचार गरेको नेता वर्षमान पुनले सेतोपाटीलाई जानकारी दिए।

Advertisement

‘हो आजै हामीले कारबाहीका लागि पत्र पठाइसक्यौं, कारबाही स्वभाविक थियो। अब सचिवालयले सायद भोलि नै कारबाही प्रकिया अगाडि बढाउनेछ,’ पुनले भने।

प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित रूपन्देहीका न्यौपाने र गुल्मीका पन्थी नेपाल कम्युनिष्ट पार्टी नेकपाको विघटनपछि माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए।

यसअघि नै माओवादी केन्द्रका संसदीय दलका नेता एवं लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको प्रमुख सचेतकमा तुलाराम घर्ती मगर र सचेतकमा पार्वती पुन गहतराजलाई नियुक्त गरेको छ।

त्यस्तै आइतवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृण्ण खाँण सहितको बुटवलमा आइतवार बदलिदो राजनीतिक समिकरण बारे छलफल भएको छ । ‘प्रदेश सरकारको नेतृत्व फेरबदलको बारेमा पार्टीले कस्तो भूमिका खेल्न बारे हाम्रो आन्तरिक छलफल  भएको हो,’ कांग्रेसबाट निर्वाचित एक प्रदेश सांसदले भने, ‘माओवादी केन्द्र र कांग्रेसबीचमा मुख्यमन्त्री फाल्नेबारे सहमति भइसकेको छ, हामी जसपासँग पनि छलफलमा छौं।’

अबको केही दिनभित्रै प्रदेश सरकार परिवर्तनको स्पष्ट खाका आइसक्ने उनले जानकारी दिए ।‘लुम्बिनीमा अब काँग्रेसकै नेतृत्वमा जाने भन्ने ढंगले छलफल अगाडि बढेको छ,’ ती सांसदले भने, ‘यसै हप्ता भित्र तपाँईहरुले नयाँ कुराहरु पाउनु हुनेछ।’