November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।

अविश्वासको प्रस्तावमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ । अविश्वासको प्रस्ताव दर्ता गर्न कांग्रेस नेता नेपालीसहित माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, जसपाका नेता हरिशरण आचार्य, कांग्रेस सांसद कुमार खड्कालगायत प्रदेश सभा सचिवालय पुगेका थिए।

यसअघि दलहरुले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेसँगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अचानक प्रदेश सभा अधिवेशन अन्त्य गराएका थिए । प्रदेश सभा अन्त्यका बाबजुद विपक्षी दलहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

Advertisement

अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसदले हस्ताक्षर गरेका छन् । तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाले पनि यसअघि नै अविश्वासको प्रस्तावमा मतदान गर्ने बताईसकेको छ ।

अविश्वासको प्रस्ताव दर्ता गर्दै गर्दा दलहरुले विशेष अधिवेशनको माग गर्ने गरि अगाडि बढ्ने बताएका छन् । कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीले चोर बाटो समातेको भन्दै विधान, विधिअनुसार विशेष अधिवेशन माग गर्दै अगाडि बढ्ने बताए ।