पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस लगायतका दलहरूको माग बमोजिम डाकिएको विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश हुँदैछ ।आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार सुरु हुने बैठकमा अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची बनाएको हो ।
विशेष अधिवेशनको पहिलो दिनको बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तावको औचित्य प्रकाश पार्नेछन् । त्यसपछि सांसदहरुले अविश्वास प्रस्तावमाथि आफ्नो धारणा राख्नेछन् ।
पहिलो दिनको बैठकमा कति सांसदले बोल्ने भन्ने टुङ्गो लागेको छैन । सांसदहरुले टिप्पणी गरिसकेपछि मुख्यमन्त्री गुरुङले जवाफ दिने र मतदानको प्रक्रिया अगाडि बढाइने सांसद दिपक कोइरालाले बताए ।
सांसदहरु बोल्ने क्रम पहिलो दिनमै सकिएको अवस्थामा मंगलबार अविश्वास प्रस्ताव उपर मतदान हुने छ । सांसदहरुको बोल्ने क्रम लम्बिएमा भने तेस्रो दिन अर्थात् १५ गते अविश्वास प्रस्तावलाई मतदानको प्रक्रियामा लैजानेगरी कार्यसूची तय गरिएको सांसद कोइरालाले जानकारी दिए ।
६० सदस्यीय प्रदेशसभामा बहुमत पु¥याउन ३१ मत ल्याउनुपर्ने हुन्छ । प्रदेशसभामा नेकपा एमालेका २७ सांसदमात्र छन् । एमालेलाई जनमोर्चाले साथ छोडेपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा परेका हुन् ।
एमालेको समर्थनमा चुनाव जितेको स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ मुख्यमन्त्रीलाई नै साथ दिने बताउँदै आएका छन् । तर, उनको समर्थनले मुख्यमन्त्री गुरुङको पद जोगिने अवस्था छैन ।
मुख्यमन्त्रीको पद जोगिनका लागि राजिव गुरुङसहित जनमोर्चाको मत आवश्यक पर्छ । जनमोर्चाको केन्द्रीय नेतृत्वले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिइसकेकाले अहिले मुख्यमन्त्री अल्पमतमा छन् ।