काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बुधबार प्रधानमन्त्री केपी ओली पुग्नुअघि नै कांग्रेस नेताहरु जम्मा भइसकेका थिए । चार सहयोगीका साथ देउवा निवास पुगेका ओलीले सुरुमै भोट माग्न आएको भन्दै हाँसो गरे । औपचारिकतामा भने उनले कांग्रेसले भोट दिने अपेक्षा आफूले नगरेको सुनाए ।
आधा घण्टाभन्दा बढी बोलेका ओलीले सारमा तीनवटा सन्देश कांग्रेस नेताहरुलाई छाडेका छन् । पहिलो, आफ्नो विकल्पमा बहुमतको सरकार नबन्ने उनको ठोकुवाजस्तै थियो । दोस्रो, संवैधानिक प्रकृया पूरा गरेरै प्रतिनिधिसभा विघटन गरी मंसिरमा निर्वाचन गराउने प्रतिबद्धता उनले जनाएका थिए । तेस्रो, निर्वाचन निष्पक्ष हुनेमा कहींकतै आशंका भए सरकारमै सहभागी हुन आग्रह गरेका थिए ।