November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आइतबार बस्नेगरी बैठक बोलाइएको छ। लामो समयपछि परिषद्‌को बैठक बस्न थालेको हो। गएको ३० मंसिरयता परिषद्को बैठक बसेको छैन।

३० मंसिरमा परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यााधीश चोलेन्द्र शमशेर जबरा सहभागी बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको थियो। 

त्यसअघि सोही दिन बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। जसमा तत्कालीन कायम सदस्यको बहुमत सदस्य उपस्थित बैठकले पनि नियुक्तिका लागि सिफारिस गर्न सक्ने व्यवस्था गरिएको थियो। तर, ३० मंसिरको बैठकले गरेको नियुक्ति सिफारिसको निर्णय केही समय गोप्य राखिएको थियो। 

Advertisement

५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेका दिन विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि परिषद्ले गरेका निर्णय सार्वजिन भएका थिए। 

राष्ट्रपति भण्डारीले २१ वैशाखमा मन्त्रिपरिषद्को सिफारिसमा दोस्रोपटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश–२०७८ जारी गरेकी थिइन्। अध्यादेश जारी भएपछि परिषद्को बैठक बस्न लागेको हो। बैठकले रिक्त रहेका संवैधानिक आयोगहरूमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ।

यसैबीच, प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी नहुने भएका छन्। कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार देउवा बैठकमा सहभागी हुने छैनन्।