काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु भएको छ । बैठकमा संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल हुने बताइएको छ ।
हाल लोकसेवामा सबै पदाधिकारी रिक्त छ । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् । महिला आयोगसहित अन्य केही संवैधानिक आयोगमा पनि केही पद रिक्त छन् ।
संवैधानिक आयोगहरुका पदाधिकारी नियुक्तिका लागि परिषदले सिफारिस गर्ने कानूनी प्रावधान छ । सिफारिसमा परेका व्यक्तिहरुको संसदीय सुनुवाइको प्रक्रिया पूरा गरिन्छ । त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।
प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता सदस्यका रुपमा रहन्छन् । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति रहेको छ ।
सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने यसअघि नै परिषदको बैठकमा सहभागी नहुने बताइसकेका छन् । देउवाले परिषदका अन्य सदस्यहरुलाई पनि बैठकमा नजान आग्रह गरेका थिए।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पनि संवैधानिक परिषदको बैठकको विरोध गरेका छन् ।