November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

गण्डकी प्रदेशमा बहुमतको सरकार दाबी गर्ने आज अन्तिम दिन

काठमाडौं– नयाँ सरकारको दाबी गर्न राष्ट्रिय जनमोर्चाका एक सांसद तयार नभएपछि गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ नै मुख्यमन्त्रीमा दोहोरिन सक्ने आकलन सुरु भएको छ। गठबन्धन बनाउन राजमो तयार भएको भए पनि सोही पार्टीका संसदीय दलका नेता कृष्ण थापाले गठबन्धनको पक्षमा हस्ताक्षर गर्न मानेका छैनन्। जसको फाइदा मुख्यमन्त्री गुरुङलाई पुग्ने देखिएको हो।

अविश्वासको प्रस्तावमाथि मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले वैशाख २६ गते राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गरेर प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सररकार बनाउन तीन दिनको समय दिएकी थिइन्। सो समय अवधि  बुधबार सकिँदै छ।

संविधानको धारा १६८ (२) बमोजिम बहुमतको सरकार बनाउने कांग्रेस, माओवादी केन्द्र र जसपाको प्रयास सफल हुन सकेको छैन। बहुमतको सरकार बन्न नसकेमा संविधानको धारा १६८ (३) अनुसार गुरुङ नै मुख्यमन्त्री बन्न सक्नेछन्। सो धारामा प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ।

Advertisement

मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा कांग्रेस, माओवादी केन्द्र र जसपाले हस्ताक्षर गरेका थिए। त्यतिबेला राजमोले हस्ताक्षर नगरे पनि सोही गठबन्धनको  पक्षमा उभिने बताएको थियो। राजमोको पार्टी केन्द्र पनि गठबन्धनको पक्षमा छ। तर प्रदेश सभामा रहेका राजमोका तीन सदस्य भने दुईतिर बाँडिएका हुन्।

अहिले मुख्यमन्त्री बने पनि गुरुङलाई सरकार जोगाउन भने चुनौती देखिन्छ। उनले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। विपक्षी  गठबन्धन कायमै रहे गुरुङले विश्वासको मतमा बहुमत पाउने सम्भावना देखिँदैन।