November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

कांग्रेस-माओवादीले वैकल्पिक सरकारमा दावी नगर्ने, ओली फेरि प्रधानमन्त्री

काठमाडौं –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनका लागि दावी नगर्ने भएका छन् । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र आवश्यक संख्या जुटाउन नसकिएको भन्दै दुबै दलले बहुमतको सरकारको दाबी नगर्ने निष्कर्ष निकालेको छ ।

बिहीबार पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संविधानको धारा ७६ (२) अनुसार दाबी गर्नका लागि बहुमत नपुग्ने भएकाले दाबी नगर्ने निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

‘हामी एमाले नेता माधवकुमार नेपाल पक्षको निर्णय कुरेका थियौं । उहाँहरूको निर्णयले हाम्रो निर्णय प्रभावित भयो अब बहुमतको सरकार दाबी गदैनौं’, उनले भने । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ गएका थिए । त्यस भेटमा माधव समूहले राजीनामा नदिए बहुमतको सरकारको दाबी नगर्ने समझदारी भएको थियो ।

Advertisement

एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार भएको भेटपछि आफूहरुको राजीनामा टरेको बताएका थिए । बहुमत सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल नेपाल समूहको निर्णय आएपछि आफूहरुले निर्णय गर्ने बताएका थिए ।