काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीले मध्यरातमा प्रधानन्यायाधीशलाई भेट्नु लोकतन्त्रका लागि हानिकारक हुन सक्ने बताएका छन्।
प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरातमा भएको भेट र विदेशी दूतले प्रधानमन्त्रीलाई पटकपटक भेटेको समाचारप्रति टिप्पणी गर्दै भट्टराईले सामाजिक सञ्जालमार्फत यस्ता गतिविधिले लोकतन्त्रलाई खतरा हुने बताए।
‘प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला लोकतन्त्रका लागि शुभ संकेत हैनन्!,’ उनले भनेका छन्।
पूर्व प्रधानमन्त्री भट्टराईले खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउनु तत्कालको माग भएको बताउँदै यस्ता घटना नजीर बन्न नहुने बताएका छन्। ‘खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो,’ उनले भनेका छन्, ‘त्यो नियम/नजीर बन्न सक्दैन।’
राज्यका प्रमुख अंगलाई षड्यन्त्रपूर्वक सिध्याउने र संविधान तथा लोकतन्त्रलाई नै मास्ने खेल भइरहेको बताउँदै उनले यस्तो षड्यन्त्र सफल हुन नदिने बताएका छन्। ‘राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस्!,’ उनले भनेका छन्।