November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

सर्वोच्चमा संसद् विघटन मुद्दाको पेशी १९ रिटको बिहीबार र ११ रिटको शुक्रबार

काठमाडौं- प्रतिनिधि सभा विघटन सम्बन्धी ३० थान रिट सर्वोच्चमा दर्ता भएका छन्। सर्वोच्चले यसरी दर्ता भएका रिटहरुलाई बिहीबार र शुक्रबार दुई दिन गरेर सुनुवाइ गर्ने भएको छ।

अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ १३ गते बिहीबार र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ वटा रिटको पेशी १४ गते शुक्रबार  लागि तोकिएको सर्वाेच्च अदालतले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को ३ को सरकारको नेतृत्वमा रहेकै समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपधारा ५ अनुसारको सरकार गठनको प्रक्रिया शुरु गरेकी थिइन्।

Advertisement

उक्त प्रक्रिया अनुसार २१ घन्टाको समय दिएपछि विपक्षी गठबन्धनका तर्फबाट १४९ सांसदसहित प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवालाई अघि सारिएको थियो।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूसँग १५३ सांसद रहेको जिकीर गर्दै सरकारको दाबी गरेका थिए। राष्ट्रपति दुवैको दाबी खारेज गरेकी थिइन्। त्यसपछि उनले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनको मिति तोकेकी थिइन्।

उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएका छन्। यीमध्ये ४ थान निवेदनमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्न माग गरिएको छ।