काठमाडौं– संसद विघटनसम्बन्धी मुद्दामाथि आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको सुनुवाइ सकिएको छ।
मुद्दाको प्रारम्भिक सुनुवाइदेखि नै इजलास गठनसँग सम्बन्धित विवादले प्रभावित भएको सुनुवाइमा आइतबारको बहस पनि संवैधानिक इजलासका न्यायाधीशकै सन्दर्भमा केन्द्रित रह्यो।
आइतबार सरकार पक्षीय कानून व्यवसायी तथा सरकारी वकिल (महान्यायाधीवक्ता) समेतले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको विषयमा प्रश्न उठाएका थिए।
यसअघि नै इजलासबाट अगल हुने राय व्यक्त गरिसकेका दुवै जना न्यायाधीशलाई समावेश गरेर पुनः इजलास गठन गरिएको भन्दै सरकार पक्षीय अधिवक्ताहरुले इजलासमा प्रश्न उठाएका थिए।
आइतबारको संवैधानिक इजलासले न्यायाधीश कार्की र भट्टराईका सन्दर्भमा आदेश जारी गर्ने जनाइएको छ। कार्की र भट्टराई अब इजलासमा रहने वा नरहने सम्बन्धमा आदेश जारी हुने जनाइएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए। संवैधानिक इजलासमा न्यायाधीशहर दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्।