पोखरा – गण्डकी प्रदेश सरकारले विश्वासको मत लिने भएको छ । गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिन लागेका हुन् । सरकार गठन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्छ ।
असार ४ गते (शुक्रबार) नै विश्वासको मत लिने तयारी भएको सरकारका प्रवक्ता कुमार खड्काले बताए । विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको उनले बताए । विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार र मन्त्रालय बाँडफाँटका काम गर्ने तयारीमा मुख्यमन्त्री कृष्णचन्द्र पौडेल रहेका छन् । पौडेल जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
असार ४ गते नै विश्वासको मत लिएर मन्त्रालय बाडफाँट टुंग्याउने र प्रदेशसभामा बजेट छलफल अघि बढाउने पोखरेलको तयारी छ । जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका उनलाई विश्वासको मत लिन एक महिना समय भए पनि मन्त्रालय बाँडफाँटअघि नै विश्वासको मत लिएर ढुक्क हुन खोजेका हुन् ।
‘४ गते नै विश्वासको मत लिएर मात्र बजेटमाथि छलफल र मन्त्रालय बाँडफाँटको टुंगो लाग्ने भएको छ,’ सरकारका प्रवक्ता समेत रहेका मन्त्री कुमार खड्काले भने, ‘यसका लागि प्रदेशसभा सचिवालयमा सूचना दर्ता भइसकेको छ ।’
नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पोखरेल नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । गठबन्धनमा रहेको दलमध्ये राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने तर गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताएको छ । अरु दलभित्र भने मन्त्री र मन्त्रालयका विषयमा विवाद छ ।
हाल विना विभागीय मन्त्री रहेका कांग्रेसका कुमार खड्का र जनता समाजवादी पार्टीका हरिशरण आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय ताकेका छन् ।