November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रतिनिधि सभा विघटन मुद्दामा आजको सुनुवाइ सुरु

काठमाडौं- प्रतिनिधि सभा विघटनको मुद्दामा (आज) आइतबारको सुनुवाइ सुरु भएको छ। रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सविता भण्डारीले बहस थालेकी छन्।

आइतबार बहसको सुरुवात  गर्दै वरिष्ठ अधिवक्ता भण्डारीले ५ मिनेटको समय मागिन्। त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले भने, ‘के हाे पाँच मिनेट? यो इजलासलाई जिस्काए जस्ताे भयाे। के आउँछ पाच मिनेटमा? समय अलि लिएर बहस गर्नुस्।’

आइतबार रिट निवेदकतर्फको बहस सकिनेछ।

Advertisement

विपक्षी गठबन्धनका तर्फवाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ सांसदले दायर गरेको रिटमा अब उनीहरुले बहसका लागि २ घन्टा ३५ मिनेट समय पाउनेछन्। गत बुधवारबाट सुरु भएको बहसमा १२ घन्टा बहस भइसकेको छ। 

तीन दिनसम्म गरेको बहसमा निवेदकहरुले प्रतिनिधि सभा विघटन गर्ने कार्य असंवैधानिक भएकाले पुनःस्थापना हुनुपर्ने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिनुपर्ने र संविधानको धारा ७६(५)मा दलीय ह्विप नलाग्ने व्याख्या गरेका छन्। अब बहस गर्ने कानुन व्यवसायीमध्ये परिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र सतीशकृष्ण खरेललाई ३०/३० मिनेटको समय निर्धारण गरिएको छ भने अन्यको हकमा थोरै समय निर्धारण गरिएको छ। चिया समयसम्म निवेदक पक्षले बहस सकेपछि बाँकी समय सरकारी पक्षबाट बहस सुरु हुनेछ।

सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश वडालले बहस गर्ने तयारी गरेका छन्। सुरुकै दिनदेखि इजलासमा उपस्थित भएर बहसको तयारी गरेका बडालले सरकारका तर्फबाट धेरै समय बहस गर्नेछन्। उनले लामो समय बहस गर्ने अनिमात्र  नायव महान्यायाधिवक्ताले वहस गर्ने तयारी गरेका छन्। 

सर्वोच्चले विपक्षीलाई पनि १५ घन्टाको समय उपलब्ध गराएको छ। उक्त समयमा सरकारी पक्षले साढे सात घण्टा समय पाउनेछन्। तोकिएको  समयमा बहस सक्नका लागि सरकारी वकिलले विषय विभाजन गर्दै तयारी गरेका छन्। 

जेठ ७ गते मध्यरातमा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीश संलग्न सवैधानिक इजलासमा बहस चलिरहेको छ।