November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

माधव नेपाललाई अपमान गरेर एमाले एकता हुँदैन : वामदेव गौतम

काठमाडौं – नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपाललाई अपमान गरेर एमाले एकता नहुने बताएका छन् । उपाध्यक्ष गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किने उल्लेख गर्दे वरिष्ठ नेता नेपाललाई अपमान गरेर एकता हुन नसक्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी ओलीको सरकारी निवास वालुवाटार शुक्रबार एमाले ओली पक्षको केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष गौतमले हतार नगरी माधव नेपाल सहितको एकता गर्नुपर्नेमा जोड दिए । उपाध्यक्ष गौतमले भने, ‘मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन । हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ ।’

एकता नभए एमाले समाप्त हुने भन्दै उपाध्यक्ष गौतमले वार्तामा जोड दिए । भने, ‘हिजो केन्द्रीय कमिटीको निर्वाचन हुँदा माधव कमरेडका जम्मा ९ जना कम थिए, अहिले पनि अवस्था उस्तै छ । एमाले आधा–आधा विभाजित छ । वार्ता कमिटी बनाएपछि बीचैमा छाड्नुहुन्न । सार्थक निष्कर्षमा पुर्याउनुपर्छ । अन्यथा हामी सबै समाप्त हुन्छौं ।’

Advertisement

एकताले अध्यक्ष ओलीकै हित गर्ने पनि गौतमले बताए । भने,‘मैले जे भनिरहेको छु, यो हाम्रो हितमा छ, व्यक्तिगत रूपमा ओलीका पक्षमा छु ।’ उपाध्यक्ष गौतमले पार्टीबाट राजीनामा नदिई देउवाका पक्षमा हस्ताक्षर गर्नु गलत भएको पनि बताए । भने, ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्ने थिएँ ।’