August 31, 2026, Monday
२०८३ भाद्र १६
1:37:26 pm

३६ हजार ३४९ जनाले पाए मनकामना लघुवित्तको १० कित्ता सेयर

काठमाडाैं- मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँट गरेको हो।

कम्पनीले यही असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो। संस्थाको आईपीओमा १९ लाख ५४ हजार २७४ जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये दुई हजार ७५३ जनाको आवेदन रद्द हुँदा १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदक कायम गरिएको क्यापिटलले जनाएको छ।

मागभन्दा बढीको आवेदन परेपछि क्यापिटलले योग्य रहेका उक्त आवेदकलाई गोलाप्रथामा सहभागी गराई सेयर बाँडफाँट गरेको थियो। जसअनुसार गोलाप्रथाबाट ३६ हजार ३४९ जनाले १० कित्ताको दरले सेयर पाएका छन्। तीमध्ये दुई जनाले ११ कित्ता सेयर पाएका छन्। आवेदन दिएकामध्ये १९ लाख १७ हजारभन्दा बढी आवेदकको हात खाली भएका छन्।

Advertisement

कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको तीन लाख ८९ हजार ४९२ कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो। जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन्। आईपीओको नतिजा मेरो सेयर, सीडीएसले आईपीओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ।