काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले हट्ने भएको छ । एमाले विभाजन गरी नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निवेदन दिएका थिए । यद्यपि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रबार फेरि निवेदन दिने तयारी छ ।
त्यसको अघिल्लो दिन एमाले समाजवादी नेता डा. विजय पौडेल आयोग पुगेका थिए । आयोगका अधिकारीहरुलाई भेट्दा सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएका छन् ।
पौडेलले नेकपा एमाले समाजवादी नभए नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी राख्न मिल्छ त भनेर समेत सोधेका थिए । नेपाल समूहका नेताहरुका अनुसार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाममा पार्टी दर्ता हुने सम्भावना छ ।
यता जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर समूहले पनि नयाँ नामबारे छलफल थालेको छ । निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएका छन् । त्यसैले दल दर्ताका लागि पुनः निवेदन दिँदा के नाम राख्ने भनेर छलफल शुरु भएको एक नेताले जानकारी दिए । भन्छन्, ‘लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राख्ने कि लोकतान्त्रिक जनता पार्टी (लोजपा) राख्ने भनेर छलफल गर्दैछौं ।’
जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि ठाकुर पक्ष दलविहीन जस्तै थियो । तर सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल दर्ता गर्नसक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि ठाकुर पक्षले बुधबार जसपा लोकतान्त्रिक दर्ताका लागि निवेदन दियो ।