November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले प्रधानमन्त्री देउवासँग गरे भेट

काठमाडौं :  भारतीय जनता पार्टी (भाजपा)का नेता तथा विदेश विभाग प्रमुख विजय मुर्लिधर चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।

उनी भारतबाट आइतबार नै काठमाडौं आइपुगेका हुन्। सत्तारुढ भाजपाका शीर्ष तहका नेताहरू केही दिनयता काठमाडौंमै रहेको बताइन्छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटबारे प्रधानमन्त्रीको सचिवालयले कुनै जानकारी दिएको छैन। 

यसअघि चौथाइवालेले गत डिसेम्बरमा नेपाल भ्रमण गरेका थिए। नेपालले कालापानीलगायत भूभाग समेटेर नयाँ नक्शा जारी गरेपछि उनी नेपाल आएका थिए।

Advertisement

चौथाइवालेले भेटमा प्रधानमन्त्री देउवालाई कार्यकालको सफलताको शुभकामना दिएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएको बताइएको छ। दुवैबीच भेटमा नेपाल–भारको हित र अन्तरपार्टी सम्बन्धबारे समेत कुराकानी भएको बताइएको छ। 

त्यसबेला चौथाइवालेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित अर्थमन्त्रीलाई भेटेका थिए। उनको भ्रमण आन्तरिक किचलोमा फसेको सत्तारुढ दल नेकपाका दुवै पक्षसँग भाजपाको निकट सम्बन्ध कायम गर्नमा केन्द्रित भएको बताइएको थियो।

चिनियाँ रक्षामन्त्रीको भ्रमणलगत्तै चौथाइवालेले नेपाल भ्रमण गरेका थिए। चिनियाँ रक्षामन्त्री सत्तारुढ दल नेकपाको विवाद समाधान गरी पार्टीको एकता कायम राख्ने उद्देश्यले काठमाडौं आएका थिए।

संसदमा विश्वासको मत पाएपछि मात्र देउवालाई भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएका थिए। यसअघिको परम्परा रहेजस्तो प्रधानमन्त्री देउवालाई भ्रमणको निम्तो भारतले अहिलेसम्म दिएको छैन।

भाजपाका अर्का एक जना वरिष्ठ नेता डा दिनेश उपाध्याय पनि केही दिनदेखि काठमाडौंमा छन्।