November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

संखुवासभा सामुहिक हत्या : चार ठाउँमा ६ जनाको शव, ९० वर्षका वौद्धमान मात्रै जोगिए

संखुवासभा- संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एउटा परिवारको विभत्स सामुहिक हत्या भएको घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान ५२ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको शव घर बाहिर भेटिएको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडाको टोली पुगेको छ । तालिमप्राप्त कुकुरबाट घटनास्थल अनुसन्धान गर्नुअघि प्रहरीले शव चलाएका छैनन् । घटनास्थलमा सुरक्षा दिइरहेका छन् ।

घटनास्थलमा पुगेका सुरक्षाकर्मीका अनुसार तेजबहादुर कार्कीसहित उनकी आमा ८४ वर्षीया पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको छ । उनीहरुको शव घरबाहिर चार ठाउँमा फेला परेको छ । फरक–फरक ठाउँमा शव फेला परेको बताइएको छ ।
परिवारका एक जना सदस्य जीवित फेला परेका छन् । बौद्धमान कार्की सकुशल फेला परेका हुन् । उनी बोल्न र कान सुन्न सक्दैनन् । संखुवासभाका डिएसपी लालध्वज सुवेदीले आफ्र घटनास्थलमा जाँदै गरेको जानकारी दिए ।

Advertisement

पावर्तकी कार्कीको शव घरमा फेला परेको छ । तेज बहादुरको शव सडकमा फेला परेको छ । बुहारी रञ्जनाको शव खोलामा र विपिन र गोमाको शव १ किलोमिटर पर बारीमा भेटिएको छ ।

कार्की परिवारका दुवै छोरा विदेशमा छन् । आइतबार राति हत्या भएका तेजबहादुर कार्कीका दुवै छोरा वैदेशिक रोजगारीका लागि विदेशमा रहेको पाइएको छ । जेठो रमेश कार्की मलेसियामा र कान्छो नरेश दुवईमा छन् । रमेशका श्रीमती र छोराछोरीको पनि हत्या भएको छ भने कान्छाका श्रीमती र एक छोरा जोगिएका छन् । नरेशका परिवार नै झापामा भएका कारण जोगिएको स्थानीय रुपेश कटुवालले जानकारी दिएका छन् । घरमा भएकामध्ये ९० वर्षीय बृद्ध बौद्धमान कार्की मात्रै जोगिएका हुन् ।

अनुसन्धानमा सीआईबी खटाउने तयारी
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या प्रकरणको अनुसन्धानमा केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोली खटाउने तयारी भएको छ । प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि सीआईबीको टोली खटाउने तयारी गरेको हो ।