काठमाडौं- बागदरबारस्थित काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय तोडफोड गरिएको छ । आज महानगर–५ का वडाध्यक्ष रमेश डंगोलले तोडफोड गरेका हुन् ।
डंगोलले महानगरको इन्जिनियर सरुवाप्रति असन्तुष्टि जनाउँदै तोडफोड गरेका हुन । प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड गरेको महानगर स्रोतले जनाएको छ । वडाध्यक्ष डंगोलले इन्जिनियर सरुवाप्रति असन्तुष्टिका कारण तोडफोड गरेको बताएका छन् ।
उनले तीन जना नै अधिकारीहरुको कार्यकक्षको ढोकामा लत्ताले हानेका थिए । महानगरका एक अधिकारीका अनुसार आल्मुनियमको ढोका भएकाले सबै ढोकाको कब्जा फुस्किएको छ भने क्षति पनि पुगेको छ ।
वडाध्यक्ष डंगोलले आफूले महानगरको कार्यालयमा तोडफोड गरेको स्वीकारे । ‘दुई वर्षदेखि कामै नगर्ने इन्जिनियर हुँदा पनि सहेर बसेको थिएँ, दुई महिनाअघि मैले नै माग गरेअनुसार एक जना इन्जिनियर पठाएका थिए,’ उनले भने, ‘अहिले एकाएक उहाँलाई अन्यत्रै सरुवा गराएछन्, त्यसबारे बुझ्न जाँदा कोही पनि जिम्मेवार ढंगले प्रस्तुत नभएकाले घटना भएको हो ।’
प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई सोध्दा आफूलाई थाहा नभएको बताएको र प्रशासन विभागका कर्मचारीले भने माथिको आदेशअनुसार सरुवा गरिएको भनेर पन्छिएकाले आफू आक्रोशित हुन पुगेको उनले बताए ।
‘राम्रो काम नगर्ने इन्जिनियर नभएर विकास निर्माणको काम राम्रोसँग गर्न पाएको छैन, राम्रो काम गर्ने इन्जिनियर दुई वर्ष नपुग्दै सल्लाहसमेत नगरी सरुवा गर्दा वडाबासीमाथि पनि अन्याय भयो,’ डंगोलले भने, ‘त्यही भएर ढोकामा लात हानेर फर्किएँ ।’ मेयर विद्यासुन्दर शाक्यले घटनापछि घटनास्थलको मुचुल्का उठाउन निर्देशन दिएका छन् । तोडफोडबाट भएको क्षति वडाध्यक्ष डंगोलबाटै भराउने मेयर शाक्यको तयारी छ ।