November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

छापामार शैलीमा बजेट ल्याउनु आपत्तिजनक : एमाले

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले छापामार शैलीमा प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ । स्थायी कमिटीको शनिबार च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको बैठकले सरकारले प्रतिपक्षलाई आवश्यक सूचना नदिई र सहकार्यसमेत नगरी बजेट प्रस्तुत गरेकोमा आपत्ति जनाएको हो । 

बैठकपछि निर्णयबारे जानकारी दिँदै प्रचार विभागका प्रमुख योगेश भट्टराईले सरकारले असंसदीय काम गरेको बताए । ‘सरकारले जे गर्‍यो, त्यो विल्कुलै असंसदीय काम भयो । यो सत्तापक्षको बलमिच्याई भयो भन्ने हाम्रो निष्कर्ष छ । कुनै पनि विधेयक प्रस्तुत गर्दा सरकारले प्रतिपक्षसँगलाई आवश्यक जानकारी दिनुपर्ने हुन्छ । आवश्यक सहकार्य गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यो कुनै पनि कुरा नगरीकन हठात् र छापामार शैलीमा बजेट ल्याइयो ।’

नेता भट्टराईले सरकारले अघिल्ला सरकारले ल्याएका लोकप्रिय आयोजनाहरुको कटौती गरिएकोमा असन्तुष्टि व्यक्त गरे । ‘बजेटमा विगतको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरुलाई कटौती गरिएको छ । कतिपय आयोजना र कार्यक्रमहरु हचुवाका भरमा ल्याइएको छ । यसप्रति हाम्रो आपत्ति छ, विमति छ,’ उनले भने ।

Advertisement