काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा बोलाएको सर्वदलीय बैठकले मालेबिना बसेर कुनै अर्थ नभएको निष्कर्ष निकालेको छ।
सभामुखको भूमिकालाई लिएर एमालेले निरन्तर संसद् अवरोध गरेपछि सुझावको लागि सभामुखले राखेको सर्वदलीय बैठकपछि राष्टिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘प्रतिपक्षीको नेताहरू नआएपछि कुनै निष्कर्षमा पुग्न सकेन। प्रतिपक्षी दललाई बोलाएर फेरि सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छौँ।’
बैठकमा सभामुखले एमालेलाई बैठकमा ल्याउन धेरै पहल गरेका भए पनि एमले संवादमा आउन नचाहेको उनले बताएका छन्।
उपाध्यक्ष पौडेलले भनिन्, ‘संवादबाट समाधान हुनुपर्छ। तर, उहाँहरूले सदनलाई अनिर्णयको बन्दी बनाउनुहुँदैन। संसदमा प्रमुख प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुन्छ।’
माधव नेपालको पार्टी कानुनीरूपमा आधिकारिक भइसकेकाले एमालेले त्यसबारे ढिपी गर्न नहुने उनको भनाइ छ।
‘माधवजीहरूको पार्टी कानुनअनुसार एकीकृत समाजवादी पार्टी बनिसकेकाले उहाँहरूको ढिपी र इगोलाई लिएर उहाँहरूले आफ्नो अधिकारलाई निष्क्रिय बनाउन खोज्नुभयो। विधि र पद्धतिबाट आएर उहाँहरूले निकास दिनुपर्छ।’
कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले संसदीय दलको उपनेता सुवास नेम्वाङसँग संवाद गर्दा पनि ओलीले बैठकमा नजाने निर्देशन दिएको जवाफ दिएको बताएका थिए।