काठमाडौ । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न लागेको भन्दै मिडियामा प्रकाशित समाचारको सत्यता पुष्टि गर्न सर्वोच्च अदालतले सञ्चारमाध्यमलाई चुनौती दिएको छ ।
केही सञ्चारमाध्यमले प्रधानन्यायाधीशको कोटाबाट दीपक तिमिल्सिना मन्त्री बन्न लागेको समाचार प्रकाशन भएपछि सोमबार अपरान्ह सर्वोच्च प्रशासनले विज्ञप्ति जारी गरी सो समाचारको खण्डन गर्दै अदालतले यसप्रति ध्यानाकर्षण भएको र समाचार मिथ्या भएको दावी गरेको छ ।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवम् बिस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवम् भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद र खेदजन्य विषय हो ।’
आइतबार साँझ र सोमबार प्रकाशित समाचारहरुमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कोटा मागेको विषय बाहिर आएको थियो ।
प्रधानन्यायाधीशले मन्त्रीको सिफारिस गरेको समाचार र हल्लाको विषय बाहिर आएपछि सोमबार बिहानै सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीशलाई भेटी विषय स्पष्ट गर्न आग्रह गरेका थिए । त्यसपछि प्रधानन्यायाधीशले समाचारमा कुनै सत्यता नभएको र कुत्सित मनसाय राखी लाञ्छित गर्न खोजिएको बताएका थिए ।
विज्ञप्ती
