काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ दिलाएलगत्तै शुक्रबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकमा देउवाले मुलुकको आवश्यकताअनुसार उत्साह र इमानदारीपूर्वक जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीलाई तोक्ने निर्णय गरेको छ।
यस्तै मन्त्रिपरिषद् बैठकले सार्वजनिक खर्च मितव्ययी र प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८ स्वीकृत गर्ने पनि निर्णय गरेको छ।
बैठकमा देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसका तर्फबाट नियुक्त भएको भन्दै हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको बताए।