काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापकीय सुधारका साथै व्यवसायिक सुधारका लागि आफूले ‘एक्सन’ लिने बताएका छन् । मंगलबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आलेले निगम जस्तो संस्था डुबाएर निजी क्षेत्र पोस्न लाग्नेहरुलाई नछाड्ने, त्यसको जरैदेखि अपरेशन चलाउने बताएका हुन् ।
मन्त्री आलेले पर्यटन तथा हवाई क्षेत्रमा सुधार गर्नुपर्ने र अपरेशन गर्नुपर्ने धेरै कुरा देखेको बताउदै कहाँ के गर्नुपर्छ र कसरी अघि बढ्नुपर्छ आफूलाई थाहा भएको उल्लेख गरे ।
त्यसैगरी मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेको केही दिनभित्रै निगमको समस्या हल गरेको र नयाँ अध्यक्ष चयन गरेको जानकारी पनि दिए ।
मन्त्री आलेले भने, ‘वायुसेवा निगम महिनौं दिनदेखि बन्द थियो । कर्मचारीहरु निगमका ताला लगाएर आन्दोलन गरिरहेका थिए । तर म आएको केही दिन भित्रै निगम खुल्यो । कर्मचारी साथीहरुलाई मैले कन्भिन्स गरेँ र उहाँको माग अनुसार नयाँ अध्यक्ष समेत प्रदान गरेका छौं । अब,निगमको व्यवस्थापकीयदेखि व्यवसायिक पाटोको व्यापक सुधारको खाँचो छ । अब हामी त्यतातिर लाग्छौं ।’
त्यस्तै मन्त्री आलेले हाल निगमका बिग्रिएका, त्यसै ह्याङ्गरमा थन्किएका जहाजहरूलाई पुनः मर्मत गरेर सञ्चालन गर्ने र अपुग खरिद गरेर भए पनि व्यवसाय अघि बढाउने बताए ।
यता,कोभिड–१९ का कारण प्रभावमा परेका समग्र होटल पर्यटन तथा साना व्यवसायहरुलाई समेत समेट्दै पर्यटन प्रवद्र्धनको खोजी गरिने भन्दै मन्त्री आलेले राम्रो कामका लागि आफूले एक सेकेन्ड पनि नसोच्ने बताएका छन् ।
त्यसैगरी मन्त्री आलेले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा सुधार ल्याइछाड्ने उद्घोष गरे ।