काठमाडाैं । नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । पुस ११ गतेदेखि १३ गतेसम्म हुने भनिएको राष्ट्रिय सम्मेलनलाई माओवादीले महाधिवेशनमा परिणत गर्न लागेको हो ।
शनिबार साँझ बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन हुनु एक दिनअघि महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले त्यसलाई महाधिवेशनमा परिणत गर्न लागिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
यसअघि दिउँसो ललितपुरमा सम्पादकहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने सोच बनाएको बताएका थिए । देशभरि नेतृत्व चयनको प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएको आधारमा यसलाई महाधिवेशन भने पनि हुने निष्कर्षमा आफू पुगेको बताएका थिए।
२०६९ सालमा माओवादीले आफ्नो सातौं महाधिवशेन हेटौंडामा सम्पन्न गरेको थियो । सम्मेलनलाई महाधिवेशनमा परिणत गर्नका लागि माओवादी केन्द्रले भोलि ८ बजेको लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ।