काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिएकै अडानका कारण संविधानसभाबाट संविधान बनेको बताएका छन्।
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा देउवाले प्रचण्डको राजनीतिक योगदानको चर्चा गर्दै नेपालको राजनीतिमा धेरै ठूलो योगदान दिएको बताए।
देउवाले भने,‘उहाँकै बलले हामी संविधानसभामा गएका हौं। संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा कांग्रेसले गरेको हो, पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो।’ देउवाले एमसिसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने पनि बताए।
एमसिसी राष्ट्रघाती नभएको र सित्तैमा आउने पैसा लिन्न भन्न नमिल्ने देउवाको भनाइ थियो। प्रधानमन्त्री देउवाले आफू पनि प्रजातन्त्रको लागि लडेको व्यक्ति भएकोले राष्ट्रियताविरुद्ध नजाने बताएका छन्।
उनले भने, ‘मैले एउटा कुरा बोल्नै पर्ने भयो, म अरु कुरा गर्न आएको थिएँ, एमसिसी राष्ट्रघाती भनिदिए। राष्ट्रघाती भन्ने पढेको छ कि छैन त्यो पनि थाहा छैन मलाई त। पहिला पढ्नुपर्छ। मैले देखेकै छैन। म पनि नेपालको प्रधानमन्त्री हुँ, म नेपालको राष्ट्रको खिलाफमा जाउँला? म पनि प्रजातन्त्रको लागि लडेको मान्छे हो। राष्ट्रघाती सन्धि किन गरुँला? एमसीसी नेपालको हितमा छ। सित्तै आएको पैसा हो यो। यसमा व्यापक छलफल गरेर सहमति भएर हामी पास गराउने छौँ।’
प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार पूरा समयसम्म चल्ने दाबी पनि गरे। उनले गठबन्धन कसैको विरुद्धमा नबनाइएको भन्दै संसद र संविधान बचाउने भनेकै गठबन्धन भएको बताए। प्रधानमन्त्री देउवाले निर्वाचन भन्दा अघिसम्म पनि गठबन्धन जानुपर्नेमा जोड दिए।