काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौँ महाधिवेशनमा आफूहरुको आत्मसमीक्षा र आत्मालोचना गरिने बताएका छन्।
नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै आइतबार अध्यक्ष दाहालले पार्टी आजको दिनसम्म विचार, संगठन, संरचना, रणनीति र कार्यनीतिको सम्बन्धमा कहाँ चुक्यो त्यसको समीक्षा हुने बताए।
उनले माओवादी पार्टी अहिले कमजोरजस्तो देखिनुमा अरुलाई आरोपित नगर्ने भन्दै आफू प्रमुख नेता भएकाले आफैँलाई चिरफार गरेको पनि उल्लेख गरे।
अध्यक्ष दाहालले माओवादी केन्द्रको महाधिवेशनमा कम्युनिष्ट आन्दोलन बलियो बनाउन चाहने र समाजवादी आन्दोलनलाई अगाडि बढाउन चाहनेहरु सबैलाई उत्प्रेरणा दिने गरी प्रस्तुत हुने जानकारी दिए।
उनले भने, ‘यो महाधिवेशनबाट हामीले गर्न चाहेको कुरा एउटा चाहिँ आत्मसमीक्षा नै हो। आत्मालोचना नै हो। हामी शान्ति प्रक्रियामा आएपछि कहाँ कहाँ चुक्यौँ ? विचारको क्षेत्रमा, संगठनको क्षेत्रमा, संरचनाको क्षेत्रमा, रणनीति, कार्यनीतिमा कहाँ चुक्यौँ ? र यति चाहिँ म सुरुमै भन्न चाहन्छु, यो प्रस्तावमा सबभन्दा धेरै आत्मसमीक्षा मैले मेरै गरेको छु।’
उनले आफूले गरेको आत्मसमीक्षा गरेको आफूले पेस गरेको प्रतिवेदन पारित भइसकेपछि देखिने बताए।
‘जनयुद्धको तयारी र नेतृत्व गर्ने अवसर मलाई जुट्यो। शान्ति सम्झौतामा हस्ताक्षर गर्ने, बाह्रबुँदे समझदारी गर्ने, संयुक्त जनआन्दोलन उठाउने, संविधानसभा प्रधानमन्त्रीजीले जसरी भन्नुभयो, यो सबै अवसर पनि मलाई प्राप्त भयो। अहिले माओवादी आन्दोलन कमजोरजस्तो, माओवादी पार्टी कमजोरजस्तो देखिनुमा मैले अरुलाई आरोपित गरेर हुँदैन,’ उनले भने, ‘मैले प्रमुख नेताको हैसियतले मभित्र नै खोज्नु पर्छ भनेर मैले आफैंलाई चिरफार गरेको छु। मलाई लाग्छ यसले हामी सबैलाई, खाली माओवादीलाई मात्रै होइन, नेपालमा साँचो अर्थमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन चाहने, समाजवादी अभियानलाई साँचो अर्थमा अगाडि बढाउन चाहनेहरु सबैलाई एउटा उत्प्रेरणा देओस् भन्ने उद्देश्यको साथ यो महाधिवेशनमा हामी प्रस्तुत हुँदैछौँ।’
उनले नेकपा एमालेसँग गलत उद्देश्य लिएर एकता नगरेको भन्दै के कारणले पार्टी विभाजन हुन पुग्यो समीक्षा आत्मसमीक्षा गर्न नेकपा (एमाले) का नेता, कार्यकर्तासँग आग्रह गरे।
देशलाई स्थायित्व दिन र समाजवादतिर लैजान एकता गरिएको उनले स्पष्ट पारे। पार्टी एकता गरेर गल्ती नगरेको जिकिर गर्दै उनले समीक्षा आवश्यक रहेको बताए।
उनले भने, ‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ। म सिंगो नेकपा (एमाले) का साथीहरुलाई भन्न चाहन्छु, हामीले गल्ती गरेका थिएनौँ। फेरि एकचोटी आत्मसमीक्षा गरौँ। कहाँ थियो त गल्ती? के कारणले हामी दुई ठाउँमा हुन पुग्यौँ? के कारणले त्यत्रो सपना हामीले आफैंले भत्कायौँ? त्यसको समीक्षा गरौँ। हामीले गल्ती गरेका थिएनौँ। हाम्रो उद्देश्य गलत थिएन। हामीले यो देशलाई स्थायित्व र समाजवादतिर लैजाने सपना पूरा गर्ने उद्देश्य राखेका थियौँ।’
आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन ५ दिन चल्ने भएको छ। सोमबारदेखि बन्दसत्र सुरु हुने माओवादी केन्द्रले जनाएको छ।