November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

स्वर्णिम युगको एन्जेलो उपहार कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिकामा रहेको सिर्जनशिल अपाङ्ग पुनस्थापना तथा विशेष शिक्षा विद्यालयमा पढ्ने फरक क्षमताका विद्यार्थिहरुलाई न्यानो कपडा वितरण गरिएको छ । अष्ट्रेलियामा रहेको स्वर्णिम युग फाउन्डेसनको एन्जेलो उपहार कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई न्यानो कपडा उपहार प्रदान गरिएको हो ।

स्वर्णिम युगको बोर्ड अफ डाईरेक्टर तथा नेपाल अध्यक्ष मनऋषि धिताल र उनका ३ वर्षीय छोरा एन्जेलोको जन्मोत्सवका अवसरमा संस्था मार्फत दुई जोर टीसर्ट, ट्राउजर तथा ट्र्याकसुट र हुडी उपहार स्वरूप प्रदान गरिएको हो ।

उपहारलाई प्रमुख अतिथि मनऋषि धिताल, उनका सुपुत्र एन्जेलो, नुवाकोटमा कार्यक्रम बनाउन भूमिका खेल्ने पोर्चुगल निवासी जानुका धमला र सिर्जनशील अपाङ्ग पुनस्थापना तथा विशेष शिक्षा विद्यालयका संस्थापक एवम् अध्यक्ष दुर्गा शर्मा थापाले वितरण गरेका थिए ।

Advertisement

उपहार कार्यक्रमलाई अष्ट्रेलियामा रहेका रेश्मा तिमिल्सिना (एन्जेलोकी दिदी), खेम शर्मा, बिधान धिताल, दुर्गा भण्डारी खरेल, रिता आचार्य घिमिरे लगायतले संस्थामा सहयोग गरेको जनाइएको छ ।

कार्यक्रमलाई एसपी उप्रेतीले सहजिकरण गरेका थिए भने विद्यालयका प्रधानअध्यापक कृष्ण लम्सालले सभापतित्व गरेका थिए । विद्यालयकी अध्यक्ष दुर्गा शर्मा थापाले विद्यालय स्थापना गर्नुको उदेश्य र संचालनका क्रममा भोग्नुपरेका चुनौतीका बारेमा बोल्दै सहयोगी मनहरुलाई मन खोलेर सहयोग गरिदिन आग्रह गरेका थिए ।

स्वर्णिम युगको एन्जेलो उपहार कार्यक्रम

मोडल, कलाकार एवम् समाजसेवी बिजेद्र नौभाग्यले विद्यालयलाई सहयोग गरेकोमा स्वर्णिम युग फाउन्डेसनलाई धन्यबाद दिएका थिए ।

चन्द्रागिरी नगरपालिका १४ नयाँ नैकापमा रहेको यस सिर्जनशिल अपाङ्ग पुनस्थापना तथा विशेष शिक्षा विद्यालयमा हाल २२ जना विद्यार्थी रहेका छन् । फरक उमेरका बालक तथा बालिकालाई अध्यापन तथा स्याहार सुसारका लागि खोलिएको यस विधालय २०७३ सालदेखि सन्चालनमा आएको हो । व्यक्तिगत पहलमा खोलिएको यस विद्यालय हाल दाताहरुको सहयोगमा निर्भर रहेको छ । विद्यालय अहिले आर्थिक समस्याबाट गुज्रिएको अध्यक्ष दुर्गा शर्मा थापाले जानकारी दिए । विद्यालयलाई हाल अष्ट्रेलियामा रहेकी प्रतिज्ञा अधिकारीले बेलाबेलामा आर्थिक र भौतिक सहयोग गर्दै आएको पनि उनले बताए ।

आर्थिक समस्याबाट गुज्रिएका विद्यालय एवम् अपाङ्ग पुनस्थापना केन्द्रहरुलाई शैक्षिक उपहार दिने कार्यक्रम अन्तर्गत स्वर्णिम युग फाउण्डेसनले विभिन्न विद्यालयहरुलाई आर्थिक भौतिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

संस्थालाई विश्वास गरेर योगदान पु¥याउनेहरुलाई नेपाल अध्यक्ष धितालले धन्यवाद ज्ञापन गर्दै अस्ट्रेलियामा रहेर नेपाल र नेपालीका लागि विभिन्न अभियान संचालन गर्ने स्वर्णिम युगका संस्थापक खेम शर्मालाई पनि सो अवसरमा सम्झेका थिए ।

त्यस्तै, गुणस्तरिय शिक्षाको लागि अभियान स्वरुप संस्थाले हाल सिन्धुली र काठमाडौंका विद्यालयहरुमा यस्ता किसिमको अभियान चलाईरहेको फाउन्डेसनका कार्यक्रम प्रमुख एसपी उप्रेतीले बताए । संस्थाले छिट्टै नुवाकोटमा पनि यस्ता किसिमको कार्यक्रमहरु लैजान लागेको उनले बताए ।