काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको सहकार्यले अरु चुनावमा पनि निरन्तरता पाउने बताएका छन् । बुधबार नेकपा एमाले शङ्करापुर–२ मा आयोजित कार्यक्रममा बोल्दै नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरूमा समेत निरन्तरता पाउने बताएका हुन् ।
अध्यक्ष नेपालले गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी भइरहेको पनि बताए ।
अध्यक्ष नेपालले नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र) पनि मिलेर जान सहमत रहेको उल्लेख गर्दै आफ्नो पार्टीमा प्रवेशको लहर चलेको र कतिपय दलहरु समाहित हुन आइरहेको बताए ।
आफू निर्वाचित हुँदा र नहुँदा दुवै अवस्थामा आफूले काठमाडौँ क्षेत्र नं २ को विकासमा चासो र अग्रसरता लिँदै आएको बताउँदै अध्यक्ष नेपालले काठमाडौँ जिल्ला भए पनि कर्णालीका रुपमा रहेको शङ्खरापुर–२ मा सडकलगायत पूर्वाधार निर्माणमा आफूले अग्रसरता लिँदै आएको दाबी गरे ।