November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

बैंकका कर्मचारीकै योजनामा १६ लाख लुटिएकाे खुलासा

काठमाडौं : एनआईसी एसिया बैंकको बानेश्वर शाखाबाट लुटिएको भनिएको १६ लाख रकम बैंककै कर्मचारीको मिलेमतोमा गायब पारिएको खुलेको छ।

रकम संकलन गर्न हिँडेका कर्मचारीकै योजनामा सो बैंकको १६ लाख ३० हजार रुपैयाँ गायब पारिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो। घटना पुस १८ गतेको हो।

सो रकम लुटपाटमा संलग्न बैंकका कर्मचारीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सुदीप गिरीका अनुसार पक्राउ पर्नेमा एनआईसी एसिया बैंकका कर्मचारी २७ वर्षीय प्रदीप खत्री, सिन्धुपाल्चोकगढी नगरपालिका–६ साँगाचोकका २४ वर्षीय विमल तामाङ, रामेछापको रामेछाप नगरपालिका–२ का शक्तिराज पौडेल र रामेछापकै २७ वर्षीय अनिश खड्का छन्।

Advertisement

यसरी रचिएको थियो लुट्ने योजना 

प्रहरीका अनुसार खत्री बैंकको ‘होम सर्भिस’ कर्मचारी हुन्। बैंकको बानेश्वर शाखामा कुनै पनि कम्पनीले ठूलो रकम जम्मा गर्न खोजे सम्बन्धित ठाउँमा पुगेर रकम बुझेर ल्याउने काम खत्रीले गर्दै आएका थिए।

पुस १८ गते उनी रकम लिन बानेश्वरस्थित १० नम्बर वडा कार्यालय र मेटलाइफ इन्स्योरेन्स कम्पनीमा गए। गिरीका अनुसार खत्रीले वडा कार्यालयबाट करिब साढे १२ लाख र मेटलाइफ इन्स्योरेन्सबाट करिब साढे तीन लाख गरी कुल १६ लाख ३४ हजार दुई सय रुपैयाँ संकलन गरेका थिए।

उनीसँगै मोटरसाइकमा बैंककी महिला कर्मचारी आरुसी भण्डारी पनि थिइन्। मध्यबानेश्वरस्थित ग्लोबल कलेज अगाडि पुगेपछि तेल सकियो भन्दै खत्रीले मोटरसाइकल रोकेर रिजर्वमा लगाउन खाेजे। त्यहीबेला विमल तामाङ, अनिस खड्का र शक्ति पौडेलले आरसीले बोकेको पैसाको झोला लुटेर भागे। 

काँडाघारी बस्ने खत्रीलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर अनुसन्धान गर्दा उनकै योजनामा रकम लुटिएको पोल खुलेको हो। लुटेको पैसा चार जनाले बाँडेर लिएको प्रहरी वरिष्ठ उपरीक्षक गिरीले बताए।

उनीहरूको साथबाट प्रहरीले १३ लाख ४६ हजार बरामद गरेको उनले जानकारी दिए। बरामद गरिएको रकममध्ये चार लाख रुपैयाँ रामेछापबाट बरामद गरिएको र काठमाडौं ल्याउँदै गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि तप अनुसन्धान भइरहेको गिरीले जानकारी दिए।