काठमाडौँ — लिम्बू भाषा तथा साहित्य लेखनमा समृद्ध किरात सिरिजङ्गा लिपि अबदेखि तीन दर्जनभन्दा बढी किरात भाषाहरू लेखनमा प्रयोग हुने भएको छ । किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात राई यायोक्खालगायत संस्था संवद्ध किरात समन्वय समितिले केही महिनाअघि ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदल–२०७८’ गठन गरेको थियो ।
भाषाशास्त्री डा. तारामणि राई संयोजक रहेको कार्यदलले किरात भाषाहरूमा रहेका ४८ व्यञ्जन वर्ण र १२ स्वरवर्णअनुसार किरात सिरिजङ्गा लिपि समायोजन गरी प्रतिवेदन बुझाएसँगै अरु भाषामा प्रयोग गर्न सहज बनेको हो ।
संयोजक राईका अनुसार किरात भाषा भोट–बर्मेली भाषा परिवारअन्तर्गत पर्छन् । आजभोलि अन्तर–हिमाली भाषाका रूपमा समेत चिन्ने गरिन्छ । यो भाषा मूलत: नेपालको पूर्वी पहाडमा बोलिन्छ । किरात भाषाहरूमा मुलत: राई, लिम्बू, कोइँच–सुनुवार र याक्खा पर्दछन् । यसका साथै हायू, सुरेल, जिरेल, थामीले अहिले पनि किरात जाति भएको दाबी गरेकाले प्रतिवेदनमा समेटिएको उनले जनाए ।
राई समूहभित्र करिब २६ वटा भाषा रहेका छन् । जसमा बान्तवा, चाम्लिङ, कुलुङ, थुलुङ, साम्पाङ, खालिङ, वाम्बुले, बाहिङ, नाछिरिङ, याम्फु, दुमी, पुमा, दुङमाली छन् । त्यसैगरी आठपरिया, मेवाहाङ, लोहोरुङ, छिन्ताङ, छिलिङ, जेरुङ, तिलुङ, कोयी, बेलहारे, साम, फाङ्दुवाली, लिङखिम/लुङ्खिम, देवासलगायत छन् । याक्खाभित्र याक्खा र मारेक–याक्खा भाषा छन् ।
‘किरात भाषाहरू देवनारी लिपिमा लेखिँदै आएको हो तर त्यसले भाषाहरूको विशेषताअनुसार लेख्न नसकिएको कारण सिरिजङ्गा लिपि प्रयोग गर्ने गरी अगाडि बढेको हो,’ किरात समन्वय समितिका संयोजक रणवीर सुनुवारले भने, ‘वैज्ञानिक आधारसहित लिपि समायोजन कार्यदल निर्माण गर्यौं । अब यो कार्यले किरात एकतालाई बलियो बनाउनेसमेत विश्वास लिएका छौं ।’ किरात सिरिजङ्गा लिपिको साझा प्रयोगले प्रदेश–१ को पहिचानलाई थप उजागर गर्ने उनले दाबी गरे ।