काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुबीच आज बसेको बैठकले अब संविधान तथा कानुनी विदहरुसँग परामर्श गर्ने र स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहमति भएको छ ।
नेताहरु अर्ली इलेक्सनको प्रस्तावबाट पछि हटेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखमा प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव अघि सारेका थिए त्यसको विरोध भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पाँच दलीय समन्वय समितिको बैठकमा प्रचण्ड स्वयंमले यो अर्ली इलेक्सन गर्ने प्रस्तावलाई छाडिदिउँ भनेको हो ।
संविधानको व्याख्या र केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध लडेको लडाइँ दुवै कारणले अर्ली इलेक्सनमा जान नसक्ने निष्कर्षमा नेताहरु पुगेका स्रोतको भनाई छ । प्रचण्ड स्वयंले अब त्यसलाई छोडिदिउँ भनेपछि त्यसको च्याप्टर क्लोज भएको एक नेताको भनाई छ ।
अब प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नियमित समयमा नै गर्न दलहरु सहमत भएको हो । समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने छलफल भएको छ ।