काठमाडौं । निर्वाचन आयोगले बुधबार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । १९ सदस्य राष्ट्रियसभा सदस्य १९ पदका लागि हुन लागेको निर्वाचनका लागि शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ ।
त्यस्तै, निर्वाचनको मौनअवधि सुरु भइसकेकाले प्रचार–प्रसार रोकिएको आयोगले जनाएको छ । निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचन कर्मचारी , स्वास्थ्यकर्मीसहितको टोलीको व्यवस्थापन भइसकेको आयोगले जनाएको छ ।
बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा मतदान हुनेछ ।
आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।