बग्दाद । इराकका लागि गैरआवासीय नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका राष्ट्रपति बर्हम सलीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । कुवेतका लागि नेपाली राजदूत रहेका भण्डारीको कार्यक्षेत्रभित्र इराक पनि पर्ने हुनाले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
इराकको राजधानी बग्दादस्थित राष्ट्रपति भवनमा हालै आयोजित कार्यक्रममा राजदूत भण्डारीले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत भण्डारीले राष्ट्रपति सलीसँग शिष्टाचार भेट पनि गरे ।
त्यस अवसरमा उनले नेपाली जनताका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इराकी सरकार र जनताको सुख, शान्ति र समृद्धिको कामना गरिएको सन्देश सुनाए ।
उनले नेपाल र इराकबीच हार्दिक र मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्य रहेको बताए । इराकी राष्ट्रपति सलीले इराक पनि नेपालसँग अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका विषयमा सहकार्य गर्न इच्छुक रहेको बताए ।