काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ । साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै नेपाली काँग्रेसका नेता रन्जित कर्णले मन्त्री यादवविरुद्ध उजुरी दिएका हुन् ।
मन्त्री यादवले माघ ५ मा रौतहटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएर साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै उनीमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न नेता कर्णले माग गरेका छन् ।
मन्त्री यादवले भने यसअघि नै विज्ञप्ति निकालेर आफूले कसैको ज्यान लिने अभिव्यक्ति नदिएको बताएकी थिइन् । आफ्नो अभिव्यक्तिलाई बङ्ग्याइएको उनको दाबी थियो ।
त्यस्तै, यसअघि बिहीबार काँग्रेसका तत्कालीन संविधान सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष कर्णले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएर मन्त्री यादवलाई बर्खास्त गर्न माग गरेका छन् ।