November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

गैंडा मृत्यु प्रकरण– अनुगमन नगर्ने चितवन निकुञ्ज र डिभिजन सडक प्रमुखलाई कारबाही सिफारिस

काठमाडाैं । चितवनमा निर्माणाधीन सडकको खाल्डोमा फसेर एकसिंगे गैंडाको मृत्यु भएको विषयमा गठित छानबिन समितिले चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरूलाई समेत कारबाहीको सिफारिस गरेको छ।

वन विभागका उप–महानिर्देशक डा. राजेन्द्र केसी संयोजकत्वको छानबिन समितिले वन तथा वातावरण मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा गैंडाको मृत्युमा निकुञ्ज र डिभिजन सडक कार्यालयका कर्मचारी र सडक निर्माण गर्ने कम्पनीको गल्ती औंल्याइएको छ।

निकुञ्जका कर्मचारीले निजामती सेवा ऐन, २०४९ तथा अन्य प्रचलित कानुनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेको उल्लेख गर्दै समितिले उनीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो। साथै, सडक निर्माण क्रममा इन्डो सगुन जेभीले पर्याप्त सावधानी नअपनाएको र चरम लापरबाही गरेका कारण गैंडाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।

Advertisement

निर्माण कम्पनीको गम्भीर त्रुटीका कारण गैंडाको मृत्यु भएकाले सम्बन्धित व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अनुसार मुद्दाको अनुसन्धान तथा तहकिकात गरी कारबाही किनारा गर्नुपर्ने प्रतिवेदनमा छ।

निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ गर्न चितवन निकुञ्जले पक्राउ पुर्जी जारी गरे पनि उनलाई पक्राउ गर्न सकिएको छैन।

छानबिन समितिले सडक डिभिजन कार्यालय भरतपुरले सुरक्षाको प्रबन्ध नमिलाई असावधानीपूर्वक काम गराएको, सरोकारवाला निकायहरूसँग समन्वय नगरेको भन्दै प्रतिवेदनमा उक्त कार्यालयका कर्मचारीलाई पनि निजामती सेवा ऐनअनुसार विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।

त्यसैगरी, नेपाली सेनाको बीसहजारी पोष्ट तथा मध्यवर्ती उपभोक्ता समितिलाई आइन्दा यस्ता घटना दोहोरिन नदिने गरी सचेत गराउन भनेको छ। चितवन निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्गदल गण र समितिले यी दुई निकायलाई सचेत गराउने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा वन रक्षकदेखि डिभिजन वन कार्यालयअन्तर्गतका कर्मचारीलाई पनि स्पष्टीकरण सोध्न भनिएको छ।

पूर्व-पश्चिम राजमार्गको भरतपुर–गोन्द्राङ खण्ड विस्तार क्रममा नाली बनाउन खनिएको खाल्डोमा फसेर गत माघ १० गते एक भाले गैंडाको मृत्यु भएको थियो।