काठमाडाै । प्रतिनिधि सभाको फागुन ४ गते बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदन गर्ने विषय भने समेटिएको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रतिनिधि सभाको भोलिको बैठकमा एमसिसी अनुमोदनका लागि टेबल हुने बताएका थिए। तर सम्भावित कार्यसूचीमा भने समेटिएको छैन।
प्रतिनिधि सभाको बैठक भोलि १ बजेका लागि डाकिएको छ। त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसिसी अगाडि बढाउन सरकारले प्रस्ताव गरे अघि बढाउने सभामुखको तयारी छ।
सभामुख सापकोटासँग प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी भोलिको बैठकमा टेबल गर्न आग्रह गरिसकेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिएका छन्। तर सभामुखको सचिवालयले एमसिसी टेबल गर्ने विषयमा प्रधानमन्त्री र सभामुख सापकोटाबारे मंगलबार दिउँसोसम्म कुराकानी नभएको जनाएको छ।
