November 13, 2026, Friday
२०८३ कार्तिक २८
1:37:26 pm

एमसिसी देशको हितमा छ, संसद्‍मा टेबल भइछाड्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसी परियोजनालाई पारित गराउन आफू लागिपरेको बताएका छन् ।

बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)’ को लोर्कापण गर्दै प्रधानमन्त्री देउवाले एमसिसी पारित गराउने कांग्रेसको सर्वसम्मत् निर्णयअनुरुप आफू लागि परिरहेको बताएका हुन्।

प्रधानमन्त्री देउवाले एमसिसी परियोजना संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताए। उनले एमसिसी राष्ट्रको हितमा रहेको दाबीसमेत गरे।

Advertisement

उनले भने, ‘एमसिसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौँ। त्यसमा लागिराखेको छु। फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन। तर, राष्ट्रको हितमा छ भन्नेकुरा सत्य कुरा हो यो। हामीले भन्नुपर्छ यो, सत्य हो।’

प्रधानमन्त्री देउवाले कांग्रेसका नेता कार्यकर्ताले पार्टीको प्रचार कम गरिरहेको बताए। पार्टीले राम्रो राम्रो काम गरिरहेको भए पनि जस अरूलाई जाने ईर्ष्याका  कारण पार्टीको प्रचार नगर्ने गरिएको उनले बताए।

प्रधानमन्त्री देउवाले पार्टीले गरेको राम्रा कामको प्रचार प्रसार पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। उनले भने, ‘पार्टीको प्रचार हामीले कम गरेका छौँ। हामीले गरेका कामहरुको प्रचार कम गरेका छौँ। प्रचार भएपछि जस अरूलाई जान्छ भन्ने हामीलाई ईर्ष्या छ। पार्टीले गर्‍यो भन्ने नाम किन भन्नुपर्‍यो? पार्टीले गर्‍यो भनेर देशभरी भन्न सकिन्छ। पार्टीको प्रचार पुगेको छैन। पार्टीले गरेका राम्रा कुराहरु पुगेका पनि छैनन्। पार्टीले राम्रो कामहरु गरेको छ।’

प्रधानमन्त्री देउवाले राष्ट्रहितको पक्षमा बोल्न नेपाली कांग्रेस पार्टी डराउन नहुने बताए। कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने बताए।