November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

आज महाशिवरात्रि पर्व, शिवालयहरुमा भक्तजनको घुइँचो

२०७८ फाल्गुन १७

काठमाडौं । आज हिन्दू धर्मावलम्बीको महाशिवरात्रि पर्व मनाइँदैछ । शिवको विशेष पूजा आराधना गरी महाशिवरात्रि पर्व मनाइन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । शिवरात्रिको दिनमा शिव मन्दिरमा विशेष भीड लाग्ने गर्छ ।

आज खोटाङको हलेशी, देवघाटलगायत देशभरका शिवालयमा शिवको विशेष आराधना भइरहेको छ । महाशिवरात्रिका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत पशुपति मन्दिर परिसरमा साधुसन्तहरू आएका छन् ।

पशुपति आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदा गर्ने चलन छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ ।

Advertisement

महाशिवरात्रिका अवसरमा पशुपति मन्दिर आउने भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै आज बिहान ४ बजेदेखि पशुपतिका चार वटै ढोका खोलिएका छन् । मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषले जनाएको छ ।

कोरोना महामारीको जोखिम कायमै रहेको समयमा समेत यस वर्ष आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिन पशुपति दर्शन गर्न सक्नेगरी व्यवस्थापन गरिएको कोषले जनाएको छ ।

विगतका वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए । यो वर्ष पशुपतिनाथ मन्दिर प्रवेश गर्ने भक्तजनहरुका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

पशुपतिका चार ढोका खुल्ने
महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिने कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।