November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

जनप्रतिनिधिले राजीनामा दिनुपर्ने नियमविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन राजीनामा दिनुपर्ने नियमविरुद्ध आज सर्वोच्च अदालतमा रिट परेको छ। निर्वाचन आयोगले लागू गरेको उक्त आचारसंहिता बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले आचारसंहिताको ‘फेरि उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने’ प्रावधान बदर गर्न माग गर्दै आज रिट दर्ता गरेका हुन्। उक्त रिट आज सर्वोच्चको दर्ता नम्बर ४० ४० मा दर्ता भएको छ।

आयोगले स्थानीय सरकार रिक्त राखेर जनताले पाउनुपर्ने सेवाबाट वञ्चित गर्न खोजेको र जनप्रतिनिधिलाई निर्वाचनमा उम्मेदवार हुने र निर्वाचित हुने हकबाट वञ्चित गर्न खोजेको भन्दै अध्यक्ष शेर्पाले रिट निवेदन दायर गरेका हुन्।

Advertisement

कानुनले तीनवटा सरकारको व्यवस्था गरेको बताउँदै त्यसविपरीत निर्वाचन आयोगले आचारसंहिता लागू गर्न खोजेको बताउँदै उनले भने‚ ‘भोलि केन्द्र र प्रदेशका प्रतिनिधिलाई पनि यो नियम लागू हुन्छ? उहाँहरूले यो नियम मान्नु हुन्छ?’ 

कानुनमा अध्यक्षले राजीनामा उपाध्यक्षलाई र उपाध्यक्षले अध्यक्षलाई बुझाउने स्पष्ट उल्लेख भएको चर्चा गर्दै  प्रश्न गरे‚ ‘  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै निर्वाचनमा उम्मेदवार हुन चाहेमा अध्यक्ष वा उपाध्यक्ष एकजनाले राजीनामा दिने कुनै पदाधिकारी नै हुँदैन। त्यो वेला के गर्ने भन्ने निर्वाचन आयोगले किन नसोचेको होला।’