November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

चीनद्वारा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण

काठमाडौँ : चीनले आज पोखरा अन्तरराष्ट्रिय विमानस्थलको चाबी नेपाललाई हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार साँझ परराष्ट्रमन्त्री डा. नारायण खड्कामार्फत उक्त चाबी नेपाललाई हस्तान्तरण गरेका हुन् ।

विदेशमन्त्री वाङ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ विदेशमन्त्री उनको निवास बालुवाटार पुगेका हुन्। पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको कार्य नसकिँदै चीनले नेपाललाई हस्तान्तरण गरेको हो।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको काम ९३ प्रतिशतमात्रै सकिए पनि विदेशमन्त्री वाङले नेपाल भ्रमणमा आएको अवसर पारेर विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन्। बाँकी ७ प्रतिशत काम सकिएपछि मात्रै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान कार्य शुरु हुने छ।

Advertisement

यसैबीच नेपाल र चीनबीच नौबुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच आज सिंहदरबारमा भएको भेटपछि नेपाल-चीनबीच सिधा रेल सञ्चालनको सम्भाव्यता अध्ययन, ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहयोग गर्ने लगायतका विभिन्न नौबुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

यस्तै अरनिको राजमार्गको मर्मत तथा सम्भार परियोजना, नेपालको रेल क्षेत्रमा बढाउने सहयोग, नेपालबाट चीनमा प्रशोधित सुक्खा घाँस निर्यातको सुरक्षा र स्वास्थ्य अवस्था सम्बन्धी प्रोटोकल, नेपालमा काम गर्न चिनियाँ मेडिकल टोली पठाउने प्रोटोकल लगायतका विषयमा सम्झौता भएको छ।

२५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा रहेका वाङले भोलि राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ। भेटघाटलगत्तै भोलि दिउँसो ३ बजे वाङ चीन फर्कने कार्यक्रम छ।